July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

एक महिनाभित्र जोन्सन एण्ड जोन्सनको कोभिड विरुद्धको खोप नेपाल आउने

215

काठमाडौं– नेपालमा अबको एक महिनाभित्र जोन्सन एण्ड जोन्सनको कोभिड विरुद्धको खोप आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोभ्याक्स फ्यासिलिटी मार्फत जोन्सन एण्ड जोन्सन खोप आउने जानकारी दिएको हो।

मन्त्रालय स्रोतका अनुसार कोभ्याक्स मार्फत १० लाख डोज खोप आउने भएको हो। ‘सुरुमा साढे ६ लाख डोज खोप आउने भनिए पनि पछि उक्त संख्यामा थप गरेर १० लाख डोज खोप आउने भएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘साढे ६ लाखबाट बढाएर एक उमेर समुहलाई पुग्ने गरी खोप उपलब्ध गराउने जानकारी आएको छ। एक महिना भित्र भनिएपनि खोप चाँडै नै आउने देखिएको छ। यो हाम्रो लागि ठूलो उपलब्ध हो।’

कोरोना विरुद्ध बनेका अन्य खोप दुई डोज लगाउनुपर्ने भएपनि जोन्सन एण्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। नेपाल सरकारले सोझै जोन्सन एण्ड जोन्सनको कम्पनीसँग खरीद गर्ने गरी प्रयास गरेको थियो। यसका लागि छलफलको प्रक्रिया समेत अगाडि बढेको थियो। तर कम्पनीले उपलब्ध गराउन नसक्ने बताएको थियो।

नेपालले खरिद गरेर ल्याउन चाहेको खोप नै अहिले कोभ्याक्समार्फत आउन लागेको मन्त्रालयका एक उच्च तहका कर्मचारीले जानकारी दिए।

नेपालमा कोभ्याक्स फ्यासिलिटी मार्फत अहिलेसम्म अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतको सेरम इन्टिस्च्यूटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज आएको छ। कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिवद्धता गरेको छ।