July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

विद्युतीय बस खरिद गर्ने साझाको प्रस्तावमा नौ कम्पनी इच्छुक

230

काठमाडौं– साझा यातायातले गरेको ४० वटा विद्युतीय बस खरिदको प्रस्तावमा नौवटा कम्पनी इच्छुक देखिएका छन्। साझाले विद्युतीय बस खरिद गर्न गत चैत १३ गते ग्लोबल बोलपत्र आह्वान गरेको थियो।

साझाले काठमाडौँ उपत्यकामा चलाउन पहिलो चरणमा ४० वटा विद्युतीय बस ल्याउन लागेको हो । शुक्रबार प्रस्ताव खोलिएको हो। नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ।

एक महिनामा प्रस्तावको मूल्यांकन गरिसक्ने साझाले जनाएको छ। अबको दुई महिनामा सम्झौता गरी छ महिनाभित्र बस ल्याउने साझाको तयारी छ।

कम्पनीले न्यूनतम दुई करोड १० लाख रुपियाँ धरौटी राख्नुपर्ने व्यवस्था छ । कम्पनीले बससँंगै चार्जिङ मेसिनसमेत उपलब्ध गराउनु पर्नेछ भने पाँच वर्षसम्म मर्मतसमेत गर्नुपर्नेछ। साझाले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको तीन अर्ब रुपियाँले नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिद गर्दै छ। 

यसअघि मन्त्रालयले २०७६ असोज १ गते सम्झौताअनुसार काम अघि नबढेको भन्दै खरिद प्रक्रिया रोकेको थियो तर २०७७ फागुनमा मन्त्रालयले साझालाई नै खरिद प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि चैतमा साझाले बोलपत्र आह्वान गरेको हो।