July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

मेलम्ची खानेपानी आयोजनाका ८ कामदार सम्पर्कविहीन

280

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ८ कामदार सम्पर्कविहीन भएका छन् । मेलम्ची खानेपानी विकास समितिले बुधबार विज्ञप्ति जारी गर्दै आयोजनाले ३ चिनियाँ, ३ भारतीय र २ नेपाली कामदार सम्पर्कविहीन रहेको जनाएको छ ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार आयोजनाका ७६ जनालाई बुधबार हेलिकप्टरबाट उद्धार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यस्तै उद्धार गरिएकाहरूलाई काठमाडौं र धुलिखेल ल्याइएको छ । सम्पर्कमा आउन बाँकी रहेका कामदारहरूको खोजीमा सबै संयन्त्र परिचालन गरिएको समितिले जनाएको छ । कामदारहरूको खोजी तथा उद्धारका लागि आयोजनाले सबैमा सहयोगका लागि अपिल समेत गरेको छ ।

आयोजनाको हेडवर्क्स नजिकैको क्याम्पसाइट बाढीले बगाएपछि मंगलबार रातिदेखि नै प्रहरी, प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी गरिएको थियो । बाढीले आयोजनाका क्याम्पहरू, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुल बगाएको छ ।

प्राविधिक निरीक्षणका लागि आयोजनाको सुरूङ मंगलबार बिहान ११ बजेदेखि बन्द गरिएको थियो । सुरूङ समयमै बन्द गरिएकोले ठूलो दुर्घटनाबाट जोगिएको छ ।