July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

पर्वतमा ९ घर भत्किए, ४२ परिवार विस्थापित

385

पर्वत । दुई दिनदेखि लगातार परेको वर्षाका कारण पर्वतका विभिन्न पालिकामा ९ घर भत्किएका छन् । पर्वत प्रहरीका अनुसार जलजलामा ७ तथा फलेबास र बिहादीमा १/१ घर भत्किएका छन् । अरु ३३ परिवार बाढीपहिरोको उच्च जोखिममा परेपछि भत्किएका ९ सहित ४२ परिवारका सदस्यहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

जलजलाको धाइरिङमा ४, लेकफाँटमा २ र वारीबेनीमा एउटा घर पूर्ण रुपमा भत्किएको प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए । उनका अनुसार फलेबासको देविस्थान र बिहादीको सेतीवेणीमा पनि एक–एक घर भत्किएका छन् । घर भत्किएका परिवारलाई स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक पौडेलका अनुसार जिल्लाभरका विभिन्न पालिकाहरुका अरु ३३ घर उच्च जोखिममा परेका कारण ती परिवारका सदस्यहरुलाई समेत सुरक्षित स्थानमा सारिएको छ । कुश्मा–१ मालढुंगामा रहेको माझी बस्ती र नजिकैको श्रमिक आधारभुत विद्यालय पनि जोखिममा परेको छ । बाढीपहिरोका कारण हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

बाढीपछि पहिरो जाँदा महाशिला गाउँपालिका–५ मा रहेको बालारानी माध्यमिक विद्यालयको भवन समेत उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको कुश्मा–१ सहस्रधारामा खसेको पहिरो हटाएर बुधबार साँझदेखि एकतर्फि सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

‘वर्षा केही रोकिएपछि एकतर्फि सवारी चलेका छन्,’ इन्सपेक्टर पौडेलले भने, ‘पानी बर्सियो भने भन्न सकिन्नँ ।’ मंगलबार खुलाइएको मालढुंगा–बेनी सडक बुधबार पुन: अवरुद्ध भएको उनले बताए । बुधबार दिनभर पनि वर्षा नरोकिएपछि जिल्लाभरका नदितटीय क्षेत्र तथा कच्ची सडक र भिरालो जमिनमा रहेका बस्ती जोखिममै रहेको सरोकारवालाहरुले जनाएका छन् । पर्वत प्रशासन र पालिकाका जनप्रतिनिधिहरुले सर्वसाधारणलाई सतर्क रहन भनेका छन् ।