July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको वितण्डा, देशका विभिन्न ठाउँमा गरी ८ जना बेपत्ता

460

काठमाडौं– अघिल्लो वर्षको तुलनामा बढी क्षतियुक्त आकलन गरिएको यस वर्षको मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी र पहिरो जाने क्रम बढेको छ। 

मनसुन प्रवेश भएको १ हप्ताको अवधिमै देशका विभिन्न १५ ठाउँमा पहिरो गएको छ भने आधा दर्जन बढी जिल्लामा बाढी आएको छ।

अविरल वर्षासँगैको बाढीका कारण नारायणी र कोसीको सहायक नदी नदी बलेफीमा पानीको सतहले खतराको सूचक पार गरिसकेको छ। 

नारायणी नदीमा पानीको सतह ८ मिटर पुगे खतराको तह पार गरेको मानिन्छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बेलुकी (११ बजेतिर) नारायणी नदीको देबघाट मापन केन्द्रमा पानीको सतह १०.२४ मिटरभन्दा माथि पुगेको छ। नारायणीमा पानीको सतह बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ।  

मंगलबार साँझै नारायणीको देवघाट क्षेत्रमा जल सतहले खतरास्तर पार गरेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ।

बाढीका कारण मनाङ, लमजुङ र सिन्धुपाल्चोकमा भौतिक क्षति पुगेको विवरण प्राप्त भएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार मनाङको चामेमा बाढीले चार घर बगाएको र पाँच घरमा क्षति पु¥याएको छ। घट्टेखोला र च्याटुखोलामा आएको बाढीले चामे बजार डुबेको छ। 

चामे बजारका  २ सय स्थानीयलाई कारागारको भवनमा सारिएको छ। बाढीका कारण विस्थापितहरुको व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले काम गरिरहेको जनाइएको छ। 

यस्तै, मनाङको दोर्दी खोलामा आएको बाढीले २ वटा घर बगाएको छ। दोर्दी खोलामा आएको बाढीले मंगलबार साँझ दोर्दी गाउँपालिका–८ हिलेबजारस्थित चतुरे विक र कन्या तामाङको घर बगाएको हो।

दोर्दी खोलाको बाढीले दोर्दी गाउँपालिका–६ कृतिपुरका कृष्ण घलेको कृषि फार्म समेत बगाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ। 

यस्तै, सिन्धुपाल्चोकको हेलम्बु हुँदै आएको बाढीले इन्द्रावती करिडोरमा ठूलो क्षति पु¥याएको आशंका गरिएको छ। मंगलबारको बाढीले ग्याल्थुममा रहेको ट्राउट फर्म, रिसोर्ट बगाएको खवर आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। तर, घटनास्थल पुगेर क्षतिबारे यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

हेलम्बुदेखि मेलम्ची मुनीसम्म बढी प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सापकोटाको भनाइ छ।  हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको उनले जानकारी दिए। मेलम्ची नदीमा आएको बाढीले बगाउँदा कम्तीमा ५ जना बेपत्ता भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए। 
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी तथा बागमतीको पश्चिमी भुभागमा ठूलो पानी परेको छ। बुधबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै ठूलो पानी पर्ने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। झरी पर्ने प्रणाली केही दिनमा पूर्वतिर सर्दै जाने प्रक्षेपण गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा देशका १६९ वर्षा मापन केन्द्रमध्ये २९ वटामा   १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। भैरहवामा १३४.८, पोखरामा १८०.२, पाल्पाको तानसेनमा २०३ र चितवन २५२.८ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जानकारी दिएको छ।

नेपालमा मनसुन सक्रिय भएयता रसुवा, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान, कालिकोट, बाजुरा, अछाम, बैतडी र दाचुृलामा पहिरो गएको छ। 

बाग्लुङ, बाजुरा, दैलेख, मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र सिन्धुपाल्चोकमा बाढी गएको छ। बाढीले बगाउँदा बाजुरामा २ र गोर्खामा १ जना बेपत्ता भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनओसी)ले जानकारी दिएको छ। 

बाजुराको बड्डिगाड खोलाले बगाउँदा बुढीनन्दा नगरपालिका–३ बड्डालाकी ३५ वर्षीया मोतिकला लुहार बेपत्ता भएकी छन्। बाजुराकै त्रिवेणी नगरपालिका–३ किमनीमा बाढीले बगाउँदा सोही ठाउँका १२ वर्षीय बालक कमल बुढा बेपत्ता भएका छन्। 

गोरखाको आरुघाट गाउँपालिका– २ ढाडेनीमा रहेको ठोट्ननी खोलामा आएको बाढीले बगाउँदा सोही ठाउँ बस्ने ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएका छन्।  

सिन्धुपाल्चोकमा कम्तीमा ५, बाजुरामा २ र गोरखामा १ जना गरी सोमबारयता मात्रै बाढीले बगाएर ८ जना बेपत्ता भएका छन्।