July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

विभिन्न संस्थाद्वारा ५० वटा भेन्टिलेटर सहयाेग

305

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिका नेपाल मेडिकल फाउन्डेशन, गार्जियन हेल्थ सिस्टम र राष्ट्रिय आविष्कार केन्द्रले ५० वटा भेन्टिलेटर हस्तान्तण गरेको छ। स्वास्थ्य मन्त्रालयमा आज ती भेन्टिलेटर स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तारन्तर गरिएको छ।

स्वास्थ्य मन्त्री तामाङले सहयोगमा प्राप्त भएका स्वास्थ्य सामग्री सदुपयोग गर्ने बताए। उनले जसजसले सहयोग गरेका छन्, त्यहाँ उनीहरुको नाम सम्झना स्वरुप लेखिने पनि बताए। 

अमेरिका नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष प्राडा भुपेन्द्र बस्नेतले ती भेन्टिलेटर नौ वटा अस्पताललाई वितरण गरिने जानकारी दिए। उनले ती भेन्टिलेटर चलाउन चिकित्सक र अन्य जनशक्तिलाई तालिम पनि फाउन्डेसनले उपलब्ध गराउने बताए।

राष्ट्रिय आविष्कार केन्द्रको स्वामित्वमा रहने गरी भेन्टिलेटर अस्पताललाई प्रदान गरिने बताइएको छ। केन्द्रले ती भेन्टिलेटर प्रयोग भएनभएको नियमन गर्ने, बिग्रेको खण्डमा मर्मतसम्भार गर्ने र प्रयोग नगरेको पाइएमा अर्को अस्पताललाई प्रदान गर्न सक्ने गरी सम्झौता गरेको छ।

ती भेन्टिलेटर वीर अस्पताल १० वटा, सिभिल अस्पताललाई ५ वटा, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ वटा, लुम्बिनी प्रादेशिक अस्पताललाई ५ वटा, टीकापुर अस्पताललाई ५, मेची अस्पताल भरतपुरलाई ५ वटा, नारायणी अस्पताल वीरगन्जलाई ५ वटा, पोखरा स्वास्थ्य विज्ञान अस्पताललाई ५ वटा र त्रिसुली अस्पतालाई ५ वटा वितरण गरिने राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ।