June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

चितवनमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

80

भरतपुर– पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। मगरको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । दुवै खुट्टा, हात र ढाडमा चोट लागेको घाइते मगरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिए।