June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

बीओपीमा खटिएका सुरक्षाकर्मीलाई दैनिक उपभोग्य सामग्रीको अभाव

115

सिमकोट– चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ। तरकारी, तेल, दाललगायतका दैनिक उपभोग्य सामग्रीको अभाव भएको हो।

हिल्सामा बीओपी स्थापना भएको झण्डै एक वर्ष पुगेको छ। सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २५ जनाको टोलीले हिल्सा नाकामा सीमा सुरक्षा दिँदै आएको छ। सशस्त्र प्रहरीलाई दाल, तेल, मसला, तरकारी दैनिक उपभोग्यवस्तुका लगायतको अभाव भएको हिल्सा बीओपीका इन्चार्ज केसीले बताए।

यारी, याल्वाङ, मुचु, केर्मीलगायत गाउँबाट खरिद गरेर आपूर्ति गर्नुपर्ने अवस्था रहेको उनले बताए। सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई तरकारी र तेलको बढी समस्या भएको उनको भनाइ छ।

हुम्लाको उत्तरी हिल्सा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले साना ठूला समस्यासँग जुधिरहनुपरेको छ। हिउँदको तीन महिना भारी हिमपात हुने हुम्लासहित उत्तरी हिल्सामा शसस्त्र प्रहरी बलको टोली यो वर्ष पहिलो पटक माइनस तापक्रममा पनि सीमा सुरक्षामा खटिएको हो ।