काठमाडौं– पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण अहिले देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल प्रदेश १ लगायत पहाडी भू–भागमा आंशिक बदली र देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानहरूमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।
प्रदेश १ लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।