काठमाडौं : विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुःख व्यक्त गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको जनाएका छन्।
देउवाले थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन्। यस्तै दाहालले पनि दुःख व्यक्त गरेका छन्। दाहालले भनेका छन्, ‘विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको कोरोना भाइरस संक्रमणबाट निधन भएको खबरले दुःख लागेको छ। मृतक थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु।’
४४ वर्षीय थापाको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा आज ४ बजेर २५ मिनेटमा निधन भएको थियो। उनकाे आजै पशुपति आर्यघाटमा दाहासस्कार गरिएकाे छ।