काठमाडौं– भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउ–तेका कारण नेपालको मौसम परिवर्तन भएको छ। आज दिनभर नै मौसममा बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले प्रदेश १ र प्रदेश २ मा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको समेत महाशाखाले जनाएको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको छ।