भरतपुर– चितवनमा अक्सिजन अभाव हुन थालेपछि यहाँका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन्। मागअनुसार अक्सिजन पुर्याउन कठिन भएसँगै जिल्लाका दुई मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न लागेका हुन्।
जिल्लामा कोरोनाको उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजमा आफ्नै प्लान्ट भएपनि बिरामीको संख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता छ।
पुरानो मेडिकल कलेजले गैंडाकोटमा रहेको आफ्नो प्लान्टलाई विस्तार गर्दै छ। २४ घण्टामा ४ सय सिलिण्डर उत्पादन हुँदै आएकामा २ सय सिलिण्डर क्षमता थप गर्न लागिएको अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले बताए।
चितवन मेडिकल कलेजले दैनिक ६ सय सिलिण्डर उत्पादन हुने नयाँ प्लान्ट ल्याउँदै छ। अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले एलसी खोलेर प्रक्रिया अघि बढेको बताए। हाल अस्पतालको प्लान्टले २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ। बिरामीको चाप बढेपछि हाल दैनिक ४०० सिलिण्डर अक्सिजनबाहिरबाट ल्याउनुपरेको उनको भनाइ छ।
भरतपुर अस्पतालले नयाँ प्लान्ट थप गर्ने तयारी गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयबाट १२ करोड बजेट आउने भएकाले छिट्टै प्रक्रिया अघि बढाइँदै छ।
दैनिक थप २४० सिलिण्डर उत्पादन हुने गरी प्लान्ट जडान गर्न लागिएको उनको भनाइ छ । भरतपुर अस्पतालमा हाल रहेको प्लान्टले दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ।