March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

ओमानबाट ल्याइएका ५६० थान अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण

1.6K

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत् नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

पश्चिम एसियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका ७५ लाख रुपैयाँभन्दा बढीको अक्सिजन सिलिण्डर आज संघका  अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको एनआरएनए कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

ओमानदेखि काठमाडौंसम्म ल्याइएको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको जनाइएको छ। सो अवसरमा स्वास्थ्यमन्त्री त्रिपाठीले संकटका समयमा सहयोग गरेकामा संघप्रति आभार प्रकट गर्दै सिलिण्डर आवश्यकतानुसार लुम्बिनी प्रदेशमा २००, सुदूरपश्चिममा १००, कर्णाली प्रदेशमा १००, प्रदेश २ मा ८५  र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न निर्देशन दिए।

Advertisement

सिलिण्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले कोभिड-१९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढिरहेकाले संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समितिलगायत विभिन्न नेपाली संघसंस्था तथा गैरआवासीय नेपालीसँग सहकार्य गरिरहेको जानकारी दिए।

संघका संस्थापक अध्यक्ष महतोले आफ्नो मुलुकमा आपत् परेका बेलामा सधैँ गैरआवासीय नेपालीले सहयोग गरेको र भविष्यमा पनि गरिरहने बताए।