June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

कोरोनाले तीन दिनको अन्तरालमा लग्यो सहोदर तीन दाजुभाइ

935

काठमाडाैं । नेपालगञ्जमा कोरोना संक्रमणबाट तीन दिनको अन्तरालमा सहोदर तीन दाजुभाइको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ सुनार मन्दी टोलमा बस्ने तीन दाजुभाइमध्ये कान्छो भाइ ४२ वर्षीय जहिर अहमदको बुधबार बेलुका ७ बजेतिर, ५४ वर्षीय  राइँलो एजाज अहमदको बिहीबार बेलुका ७ बजेतिर र काइँलो इम्तियाज अहमदको शुक्रबार बिहान साढे १० बजेतिर मृत्यु भएको छ।  

उनीहरु तीनै जना दाजुभाइको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको नेपालगञ्ज ३ का वडाध्यक्ष महोमद अयुब शिद्धिकीले बताए।

‘उहाँहरु सबै संगालमा बस्दै आएनु भएको थियो,’ वडाध्यक्ष शिद्धिकीले भने ‘सात दाजुभाइमध्ये तीन दाजुभाइको मृत्यु भएपछि अब चार दाजु भाइ छन्।’ मृतक तीन दाजुभाइले नेपालगञ्जमा रंगरोगनको काम गर्दै आएको वडाध्यक्ष शिद्धिकीले बताए।

‘कोरोना संक्रमित तीन दाजुभाइको भेरी अस्पतालमा उपचारका क्रममा तीन दिनको अवधिमा मृत्यु भएको घटनाले नेपालगञ्जबासी स्तब्ध छन्,’ शिद्धिकीले भने। उनले इम्तियाजकी श्रीमती पनि बिरामी रहेको बताए।

‘उहाँको अवस्था गम्भीर रहेको हुँदा आज नै घरमै अक्सिजन सिलिण्डर पुर्‍याउन मैले भूमिका खेलुको हो,’ वडाध्यक्ष शिद्धिकीले भने। अहमदहरु ठूलो परिवारमा बस्दै आएको र बृद्ध बाबु आमा पनि सँगै रहेको उनले जानकारी दिए।