May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

धरहराको उद्घाटन आज प्रधानमन्त्री ओलीले गर्दै, सार्वजनिक अवलोकन मंसिरपछि मात्रै

365

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ धरहराको उद्घाटन गर्दैछन । काठमाडौंको सुन्धारामा निर्माण सम्पन्न भएको २३ तल्ले धरहरा आज लोकतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीले उद्घाटन गर्न लागेका हुन ।

धरहराको उद्घाटन आज गरिए पनि तत्काल सार्वजनिक अवलोकनका लागि भने खुल्ला गरिने छैन । मंसिरसम्म सबै काम सम्पन्न भएपछि मात्रै सार्वजनिक अवलोकनका लागि धरहरा खुला गर्ने योजना रहेको पुनर्निर्माण प्राधिकरणका विज्ञ इञ्जिनियर राजुमान मानन्धरले जानकारी दिए । उनका अनुसार धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गर्न लागिएको छ ।

भत्किएको धरहरा यथावत् राखेर नजिकै बनाइएको अर्को धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि जमिनमाथिको भुइँ तल्लासहित २३ तलाको रहेको छ । जमिन मुनिको २ तलासमेत गणना गर्दा धरहरा २५ तलाको रहेको छ ।

धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब ४८ करोड रहेको छ ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर रहेको छ । भूमिगत तलासहितको उचाई ९२.२५ मिटर रहेको छ । धरहराभित्र दुईवटा लिफ्ट राखिएका छन । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकाहरुलाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्याङसमेत जडान गरिएको छ ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औं तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौं तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।