April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

कोरोना जोखिम बढेसँगै रात्रिकालीन व्यवसाय र आवागमनमा कडाई गरिँदै

205

काठमाडाैं- सरकारले काेराेना संक्रमणकाे जाेखिम बढेसँगै रात्रिकालीन व्यवसाय र आवागमनमा कडाई गर्ने निर्णय गरेकाे छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति निकाल्दै बढ्दाे जनस्वास्थ्यका मापदण्ड उल्लंघन र संक्रमण तथा बेलायतबाट भित्रिएकाे काेराेना भाइरसकाे नयाँ भेरियन्टलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय र गतिविधिमा कडाई गर्ने निर्णय गरेकाे जानकारी दिएकाे हाे।

यस्तै ‍काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यता रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेदेखि कडाइका साथ बन्द गर्न/गराउन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेकाे छ। 

संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ।

यसैगरी ठूला सहरहरुमा ५०० भन्दा बढी र साना शहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गरिने भएकाे छ।विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ।

यस्तै बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।