April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

चिकित्सक भन्छन्- अहिलेको वायु प्रदूषणले गम्भीर समस्या निम्त्याउँ

135

काठमाडौं – काठमाडौं उपत्यकासँगै देशका विभिन्न भागमा वायु प्रदूषण बढिरहेको छ। वायु प्रदूषण अझै केही दिन कायमै रहने मौसमविदहरुले बताएका छन्। 

चिकित्सकहरुका अनुसार बढ्दो वायु प्रदूषणले स्वास्थ्यमा प्रतिकुल असर गर्दछ। काठमाडौंमा बढिरहेको वायु प्रदूषणले स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य असरहरु निम्त्याउने उनीहरुले बताए।

त्रिवि शिक्षण अस्पतालका छातिरोग विशेषज्ञ डा सन्तकुमार दास वायु प्रदूषणले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्ने बताउँछन्। वायु प्रदूषण र यसका कणहरु श्वासनली मार्फत व्यक्तिको शरीरमा प्रवेश गर्दछ। यसले श्वासप्रश्वास प्रणाली सहित शरीरका विभिन्न अंगमा असर गर्ने उनले बताए। 

डा दासका अनुसार वायु प्रदूषणले एलर्जी गराउने, नाक चिलाउने, पानी बग्ने, हाछ्यु आउने, घाँटी खसखस हुने, सुख्खा खोकी लाग्ने लगाउने समस्या निम्त्याउँछ। छाति रोगका बिरामीहरु र पहिलेदेखि नै श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुको समस्या थप बढाउने उनले बताए। उनले भने, ‘पहिले नै श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरुमा वायु प्रदूषणले श्वास फेर्नमा बाधा पुर्‍याउँछ अनि समस्या थप जटिल बनाउन सक्छ।’

विशेषगरी यसले असर गर्ने भनेको दमका बिरामीलाई हो। ब्रोन्केल आज्मा (दम) भएपनि स्वास्थ्य अवस्था ठिक रहेका बिरामीमा श्वासप्रश्वास नियन्त्रण बाहिर हुन सक्छ। दम खोकीका बिरामीलाई पनि वायु प्रदूषणले गाह्रो बनाउन सक्छ। 

वायु प्रदूषणका कणहरु फोक्सो भित्र छिरेपछि दम बढाउने मात्र नभई निमोनिया पनि गराउने जोखिम बढाउने उनले बताए। उनका अनुसार विशेषगरी भाइरल निमोनिया बनाउने जोखिम बढी हुन्छ। 

काठमाडौंमा देखिएको यो वायु प्रदूषणले स्वस्थ मानिसलाई समेत असर गर्न सक्ने भएको उनले बताए। अत्यावश्यक काम बाहेरक भीडभाड या बाहिर ननिस्कन उनको सुझाव छ।