April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

प्रतिकूल मौसमका कारण सयौँ उडान प्रभावित

240

काठमाडौं – प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नु परेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भए । आज पनि कतिपय गन्तव्यको उडान सञ्चालनमा कठिनाइ भएको विमानस्थलले जनाएको छ ।

विशेषगरी हेलिकोप्टर कम्पनीको व्यापार बढी प्रभावित भएको छ । तीन दिनका लागि बुकिङ भएका विभिन्न कम्पनीका दैनिक ७० जना यात्रु उडाउने उडान तालिका रहे पनि चार दिनसम्म उडान भएन । यो अवधिमा करीब ४० उडान रद्द भए । यस्तै, १२ भन्दा बढी उद्धार उडान रद्द भएको वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ । गोसाइँकुण्डको मात्रै ४० उडान रद्द भएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले प्रतिकूल मौसमका कारण हवाई क्षेत्रको उडान प्रभावित भएको र सबैभन्दा बढी असर हेलिकोप्टर कम्पनीमा परेको बताए।

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणले देशभरको जनजीवन प्रभावित भएको छ । वायु प्रदूषणले मानवस्वास्थ्यमा पनि असर गर्ने विज्ञहरुले बताएका छन् ।