काठमाडौँ – सरकारले कोरोना भाइरसविरुद्ध पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइसिएसले माघ १४ देखि फागुन १० गतेसम्म पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा खोप लगाउने निर्णय गरेको हो ।
मन्त्रालयले दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष देखि ६४ वर्षसम्मका व्यक्तिहरुलाई पहिलो मात्रा दिनका लागि पछि सूचना जारी गर्ने जनाएको छ । पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८८० जना व्यक्तिले खोप लगाएका थिए ।
हालसम्म खोप लगाउनेको जम्मा संख्या १६ लाख ५ हजार ७०६ जनाले खोप लगाइसकेका छन् । दोस्रो मात्रा लगाइसकेका व्यक्तिलाई खोप कार्ड समेत उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।