November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोना विरुद्धको खोपको दोस्रो मात्रा ८ हप्तापछि दिइने

२०७७ फाल्गुन १०

7.8K

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई ८ हप्तापछि मात्र दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ प्राविधिक सल्लाहकार समितिले कोभिड विरुद्धको पहिलो खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा ८ देखि १२ हप्ताभित्र दिन प्रस्ताव गरेपछि मन्त्रालयले सो निर्णय गरेको हो ।

सरकारले कोभिड खोप अभियान सुभारम्भ गर्दा दोस्रो मात्रा २८ दिनपछि दिने निर्णय गरेको थियो । उक्त निर्णय संशोधन गर्दा ८ हप्तापछि मात्र दोस्रो मात्रा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

गत माघ १४ गतेदेखि नेपालमा कोभिड विरुद्धको खोप अभियान सुरु गरिएको हो । मन्त्रालयका अनुसार आइतबारसम्म देशभर ४ लाख १५ हजार जना व्यक्तिले पहिलो मात्रा खोप लगाइसकेका छन् ।

हालसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सरकारी कार्यालयका कर्मचारी, पत्रकार, स्थानीय निर्वाचित जनप्रतिनिधि, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सीका कर्मचारीले खोप लगाइसकेका छन् ।

खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले फागुन २३ गतेदेखि दोस्रो चरणमा समुदाय स्तरमा खोप अभियान सञ्चालन गरिने जानकारी दिए ।