July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

प्रचण्ड-माधव समूहको प्रदर्शन सुरु नहुँदै जाम, ट्राफिकको सबै जनशक्ति सडकमा

420

काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ ।

ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ । कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।

ट्राफिक प्रहरीका सबै जनशक्ति सडकमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बिहानदेखि नै जाम सुरु हुन थालेको भएको बताए । जुलुस सकिएर सभामा परिणत भएपछि भने यातायात आवागमन केही सहज हुन सक्ने उनको अनुमान छ ।

यातायात आवागमनलाई सहज बनाउने प्रयासमा ट्राफिक प्रहरीका सबै जनशक्ति बिहानैदेखि सडकमा उतारिएको छ । ट्राफिक प्रहरी प्रवक्ता अधिकारीले भने, ‘ट्राफिक प्रहरीको जनशक्ति १५ सय हो, ती सबैलाई बिहानैदेखि परिचालन गरिएको छ ।’