July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाइने

1.1K

काठमाडौं: ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति २०७७ र यसअन्तर्गतको प्रचारप्रसार उपसमितिका सबै निर्णय कार्यान्वयन गरिने भएको छ ।

प्रचारप्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा आज बसेको बैठकले दिवसको शुभकामना शहरका विभिन्न स्थानमा रहेका डिस्प्ले बोर्डमा सन्देश प्रसारण गर्न काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय सूचना प्रविधि केन्द्रले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।

राष्ट्रिय समाचार समिति (रासस) ले प्रजातन्त्र दिवससम्बन्धी आलेख, लेख, टिप्पणीलगायत समाचार सामग्री प्रकाशन गर्ने भएको छ । यसैगरी नेपाल टेलिभिजन र रेडियो नेपालबाट दिवसको विषयमा केन्द्रित रही विशेष परिसंवाद, संवाद, अन्तरक्रिया, छलफललगायत जनचेतनामूलक कार्यक्रमको प्रसारण गरिने भएको छ ।

सामुदायिक एवं निजी क्षेत्रका अन्य सञ्चारमाध्यम रेडियो, टेलिभिजनलगायतबाट पनि जनचेतनामूलक कार्यक्रमको प्रसारण गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । गोरखापत्र, द राइजिङ नेपाललगायत राष्ट्रियस्तरका पत्रपत्रिकामा दिवसको विशेषाङ्क/स्मारिका र बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख रचनाको सङ्गालो प्रकाशन गरिने भएको छ । निजी क्षेत्रका प्रकाशन गृहलाई पनि यस्ता सामग्री प्रकाशनका लागि अनुरोध गरिने निर्णय भएको छ । दिवसका अवसरमा आ-आफ्ना घर घरमा राष्ट्रिय झण्डा सम्मानका साथ राख्न आमसञ्चार माध्यमबाट प्रचारप्रसार गरिने सचिव बस्यालले बताउनुभयो ।

सूचना तथा प्रसारण विभागले राष्ट्रिय प्रजातन्त्र दिवसको महत्व र आवश्यकतासमेतलाई प्रवद्र्धन गर्न सघाउ पुग्ने गरी वर्गीकरणमा परेका सबै पत्रपत्रिकामा लोक कल्याणकारी विज्ञापनका रुपमा उच्च प्राथमिकताका रुपमा सन्देश प्रकाशन गरिने भएको छ ।

नेपाल टेलिभिजनबाट प्रजातन्त्र दिवसको विविध पक्ष समेटिएको वृत्तचित्र प्रसारण गरिने भएको छ । नेपाल टेलिभिजन र रेडियो नेपालबाट ७१औँ प्रजातन्त्र दिवसको सैनिक मञ्चमा हुने मूल समारोहको प्रत्यक्ष प्रसारणसमेत गरिने छ । समारोहको प्रत्यक्ष प्रसारण गर्न इच्छुक रेडियो, एफएम रेडियो र टेलिभिजनलाई रेडियो नेपाल र नेपाल टेलिभिजनले सहजीकरण गरिदिने भएका छन् ।