July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

‘सुखी नेपाली, समृद्ध नेपाल’ मैले तय गरेको नारा हो-झलनाथ खनाल

430

काठमाडौं: नेकपा वरिष्ठ नेता झलनाथ खनालले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा आफूले तय गरेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनालले नवौं महाधिवेशनमा आफूले यो नारा बनाएको जानकारी दिए । २०७१ को असारमा काठमाडौंको भृकुटी मण्डपमा भएको तत्कालिन नेकपा एमालेको नवौं महाधिवशेनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमा यो विषय उल्लेख गरेको खनालले दाबी गरे ।

‘नवौं महाधिवेशनको राजनीतिक दस्तावेज मैले नै लेखेको हुँ। कम्युनिष्ट आन्दोलन सुरू भएको ७० वर्ष पुग्न लाग्दै गर्दा अबको नारा के तय गर्ने भन्ने मलाई लागेको थियो,’ उनले भने, ‘जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्था छ। त्यसैले अब कम्युनिष्ट पार्टी स्थापनाको शताब्दी पुग्दा सुखी नेपाली, समृद्ध नेपालीको एजेण्डा लिएर त्यसलाई सम्पन्न गर्नुपर्छ भनेर यो नारा तय भएको हो।’ 

२०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनमा तत्कालिन एमालेको अध्यक्षमा निर्वाचित खनालले नवौं महाधिवेशनका लागि तयार पारेको राजनीतिक दस्तावेजमा यो नाराले ठाउँ पाएको थियो । आठौं महाधिवेशनमा ओलीलाई हराएका खनाल नवौं महाधिवेशनमा ओली अध्यक्षमा निर्वचित हुँदा तटस्थ बसेका थिए । नवौं महाधिवेशनले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई पार्टी एकतापछि पनि निरन्तरता दिइएको खनालले बताए ।