September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

कांग्रेसद्वारा आन्दोलनका कार्यक्रमको व्यापकताका लागि अपिल

1.3K

काठमाडौं: नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरुमा व्यापकताका लागि सबैलाई अपिल गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरु देखिनै कुल्चिँंदै आएको टिप्पणी गर्दै त्यसविरुद्ध पार्टी संस्थागत निर्णयका साथ प्रष्ट रुपले विरुद्धमा उभिएको स्पष्ट पार्नुभएको छ ।

“संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथ ग्रहण संविधानको मर्मविपरीतको कर्म गर्ने प्रवृत्तिविरुद्ध हाम्रो सङ्घर्ष जारी छ, जारी रहनेछ”, विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले संसद् विघटनविरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने उल्लेख गर्दै जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न आफू दृढ रहेकोसमेत जनाएको छ ।

साथै कांग्रेसले विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई पनि सो अपिल गरेको छ । वर्तमान सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा शालिन ढङ्गले प्रस्तुत हुँदै आएको उल्लेख गर्दै उहाँले अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम आयोजना नगरेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटन लगत्तै कांग्रेसले आयोजना गरेको सर्वदलीय बैठकबाट निर्मित साझा धारणाको पक्षमा आन्दोलनका अलग–अलग कार्यक्रम मार्फत व्यापक जनमत प्रकट भइरहेको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसले संसद् विघट्नविरुद्ध गत पुस १३, पुस २५, यही माघ ३, माघ ८ र माघ १९ गते विभिन्न तहमा पार्टी र भ्रातृ संस्थाहरुबाट व्यापक सहभागिता साथ प्रदर्शन सम्पन्न गरिसकेको छ ।

साथै भोलि माघ २४ गते शुभेच्छुक संस्थाहरुको प्रदर्शनपश्चात आगामी फागुन ३ गते ७७ जिल्लामै कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम पूर्वनिर्धारित रहेको प्रवक्ता शर्माले जनाउनुभएको छ ।