September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

पार्टीको आधिकारिता दाबी गर्न प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जाने

895

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिता दाबी गर्न प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जाने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जाने भएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठकले निर्वाचन आयोगले माग गरेअनुसार अद्यावधिक विवरणसहित आधिकारिता दाबी गर्न जाने निर्णय गरेको हो ।

‘निर्वाचन आयोगले हाम्रो पार्टीको विधानअनुसार पार्टीका बैठकहरु गरेर पार्टीका पदाधिकारीहरुको सन्दर्भमा फेरबदल गरिएको निर्णयसहित अद्यावधिक गर्न अनुरोध गरेको थियो’, श्रेष्ठले भनेका छन्, ‘अद्यावधिक गर्ने बारे जुन पत्र निर्वाचन आयोगले पठाएको छ, त्यस सन्दर्भमा पार्टीको तर्फबाट लिखित जवाफसहित पार्टीको आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने बैठकले निर्णय गरेको हो ।’

यद्यपि यसबीच गत माघ ११ मा बसेको निर्वाचन आयोगको बैठकले विभाजित नेकपाका दुवै पक्षलाई आधिकारिता दिन अस्वीकार गरेको थियो । निर्वाचन आयोगले पार्टी विभाजन विधानसम्मत र कानूनसम्मत नभएको भन्दै दुवै पक्षको आधिकारितालाई अस्वीकार गर्दै साबिकको नेकपालाई नै वैधानिक भनेको थियो ।