काठमाडौं । वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्री बनाउने गरी सम्झौता गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यसको कार्यान्वयनका लागि आफ्नो विधान सच्याउनुपर्ने देखिएको छ । रास्वपाको विधानमा उल्लेखित संसदीय दल नेता चयनसम्वन्धी व्यवस्थाको उल्लंघन भइसकेकाले संशोधन गर्नुपर्ने भएको हो ।
रास्वपा विधानको धारा ६६ (८) मा संसदीय दलको नेता चयनबारे उल्लेख छ । जसमा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट प्रत्यक्ष र समानुपातिकतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुक उम्मेदवारहरुबीच प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनुपर्ने उल्लेख छ ।
त्यसैगरी उपधारा (क) बमोजिमको निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने र (ग) धारा (क) र (ख) बमोजिम हुने निर्वाचनमा कुल खसेको सदर मतको (५०%+१) को संख्यामा मत ल्याउने उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुनेछ । कुनै उम्मेदवारले कुल सदर मतको (५०%+१) को संख्यामा मत प्राप्त गर्न नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुने उल्लेख छ । विजयी उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुनेछ ।
रास्वपाले भने चुनाव जित्ने टुंगो नहुँदै पार्टीका साधारण सदस्यहरुले भोट दिएर संसदीय दलको नेता छनोट गर्ने अनौठो प्रावधान राखेको छ । यदि संसदीय दलको नेता छानिएको व्यक्तिले चुनाव नजितेमा जितेका सांसदहरुमध्ये फेरि चुनाव गराएर चयन गर्ने विधानमा व्यवस्था छ ।




