April 20, 2026, Monday
२०८३ बैशाख ८
1:37:26 pm

वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन

805

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । ७८ वर्षीय रसिकको आइतबार दिउँसो ११ बजेतिर हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले पुष्टी गरेको हो ।

रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरले पीडित थिए । रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । रसिकको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।

लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिक नेपाली गीतसङ्गीत क्षेत्रको बहुआयमिक व्यक्तित्व हुन् । उनले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढी संग्रह पनि प्रकाशित गरेका छन् ।

Advertisement

रसिकको जन्म भोजपुरको टेम्केमैयुङ गाँउपालिका वडा नं.२ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल असोज ४ गते भएको हो ।

रसिकले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२–२०७५) जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदामा जिम्मेवारी निर्वाह गरे ।