November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मूलसुब्बा खलकबाट कविको आगमन

राजकुमार दिक्पाल
२०८२ जेष्ठ ९

7.2K

धरानबाट धनकुटा हुँदै उत्तरतिर मोटरबाटो लम्किएपछि नातागोताहरूसँग धनकुटामा बसोबास गर्ने हाम्रो भेटघाट साह्रै नमज्जाले पातलियो । ताप्लेजुङको पश्चिमी भाग, तेह«थुम, भोजपुर र संखुवासभातिरबाट धरान वा तराईतिर झर्ने अनि त्यतातिरबाट पहाड उक्लने मूलबाटोको हाम्रा टोलबस्तीको रौनकलाई मोटरबाटोले पुरै खोसिदियो । घरैछेउबाट मोटर त गुड्यो, तर हाम्रा टोलबस्तीहरू विराना भए ।

धनकुटामा जागिर पाएपछि त्यतैतिर रत्तिएका मेरा बुबाले पैतृक थलो ताप्लेजुङको हाङपाङबाट परिवारको बसाई धनकुटातिरै सारे । म धनकुटामै जन्मिएँ । तर टोलमै हामी एकै घर लिम्बू परिवार भए पनि हाम्रै घरको आगन भएर ओहोरदोहोर गर्ने नातागोताहरूको कारण हामीले एक्लोपन महसुस गर्न परिरहेको थिएन । हाम्रो घरमा बास बस्न आउने नातागोता र पाहुनाको सङ्ख्या पनि सधैँ बाक्लो हुन्थ्यो । मोटरबाटो आएपछि ती क्षणहरू केवल सम्झनामा सिमित भए ।
२०४३ सालको हिउँदमा एक रात बासको लागि एक दम्पतिको हाम्रो घरमा आगमन हुन्छ । एउटा विस्मयजस्तो लाग्ने यो आगमनले केही वर्षदेखि मोटरबाटोले थोपरिदिएको हाम्रो न्यास्रो एकै रातको लागि भए पनि हट्न पुग्छ । बुबा हुन्जेल उनलाई भेट्नका लागि पनि कोहीकोही हाम्रो घरमा टुप्लुक्क निस्कन्थे । तर उनी बितेको पनि डेढ वर्ष भइसकेको थियो । न्यास्रोमाथि न्यास्रो थपिएको बेला एक रातको बासको लागि त्यस दम्पतिको आगमन हुनुमा पनि एउटा संयोगले काम गरेको रहेछ ।
अघिल्लो दिनभरि नै हिउँदे झरी परेको र अलि माथिको लेकाली डाँडाहरूमा हिउँ पनि परेकोले त्यसबेलाको पीच नभइसकेको कच्चाबाटोबाट गाडी मास्तिर जान नसकेपछि त्यस दम्पतिको आफूले बोकेको झोलीतुम्बीसहित हाम्रो घरमा बासको लागि आगमन भएको रहेछ । उनीहरू धरानबाट पहाडघर हाङपाङ जाँदै रहेछन् ।
रातभरिमा पानी पर्न छाड्यो । अगेनामा उनीहरूले भिजेको कपडाहरू सेकाए । भोली बिहान उनीहरूको झोलाहरू बोकेर धरानबाट आएको यात्रुवाहक बस चढाई दम्पतिलाई विदा गर्नमा मेरो सक्रियता रह्यो । हाम्रा घरका ती पाहुना दम्पति उमेरमा मभन्दा धेरै जेठा तर साइनोमा मलाई काका सम्वोधन गर्दा पहिले त छक्कै परेँ म । विदा हुनेबेलामा मभन्दा धेरै जेठा ती भतिजले मेरो हातमा जबरजस्ती १० रुपैयाँको नोट थमाए, म लाजले भुतुक्कै ! त्यो बेला १० रुपैयाँको मूल्य ठूलो थियो । मैले एक हप्ता पकेटखर्च चलाएँ ।
पाहुनालाई विदा गरेर घरमा फर्केपछि आमालाई ती दम्पतिको बारेमा सोधेँ । आमाबाट जवाफ आयो,“अबुई नि, तिनीहरू त गाउँको ठूलो सुब्बाहरू पो है !”

२०४३ सालको त्यो हिउँदे झरीले बाटो रोकिएको बेला एकै रातको बासका लागि हाम्रो घरमा आएर हाम्रो न्यास्रिएको मनलाई सुखद स्पर्श गरिदिने उनै साइनोमा मेरा भतिज अमृतकुमार यक्सोसँग एक साताअघि मात्रै कुराकानी गर्ने अवसर पाएँ । उनी हाङपाङका अन्तिम लिम्बू मूलसुब्बा शरणध्वज यक्सोका जेठा छोरा हुन् । तत्कालिन हाङपाङको उपप्रधानपञ्च भइसकेका उनी त्यसपछि लाहुर गए । हालः सेवानिवृत्त उनी धरानमै आरामको जिन्दगी ब्यतित गरिरहेछन् । उनी अहिले ८० वर्षका भए ।

हामी यक्सो लिम्बूहरूलाई आफ्नो इतिहासप्रति ठूलो गौरव छ । आफ्नो पैतृक थलो हाङपाङबाट उछिट्टिएर धनकुटामा बसोबास गरे पनि मेरो बुबा कप्तान आशबहादुर यक्सोले वंशको इतिहासप्रति ठूलो दायित्त्व निर्वाह गरेका रहेछन् । उनी वृद्धावस्थाका हुँदा कान्छो छोराको रुपमा म जन्मेको र आफू सानै हुँदा उनको पनि देहान्त भएकोले उनीबाट धेरै जान्ने सुन्ने अवसरबाट वञ्चित हुन पुगेँ । तर उनैले जोगाएर राखेको दुई सय वर्षभन्दाअघि तयार हाम्रो वंशावलीको पुरानो सक्कल कागज आज मेरो हातमा आइपुगेको छ । सोही कागज सारेर क्याप्टेन खड्गेन्द्रसिंह आङ्बुहाङले पहिल्यै हाम्रो वंशावलीको एक प्रारुप तयार पारिदिएका थिए । सोही प्रारुप अन्तरगत तत्काललाई वृहत् गर्न नसके पनि सुरुमा आफ्नो हाँगाको वंशावली छाप्ने श्रेय उनै भतिज अमृतकुमारलाई जान्छ । अधिवक्ता तेजबहादुर यक्सोले पनि त्यस वंशावलीलाई अगाडी बढाउने प्रयास गरेका थिए । पछि काजीमान यक्सो र लक्ष्मीप्रसाद यक्सोले वृहत् वंशावली “यक्सो इत्लाम” तयार पारेको र त्यो प्रकाशित भइसकेकोले हाम्रो वंशको आधिकारिक वंशावलीकार चाहिँ काजीमान र लक्ष्मीप्रसाद नै हुनपुगेका छन् ।

हाङपाङको परम्परागत किपटको मूल सुवांगीमध्ये यक्सोहरूको जेठो खलकको जिम्मामा जाँदा अमृतकुमारका बुबा शरणध्वज यस क्षेत्रको अन्तिम मूलसुब्बा कायम रहे । यस क्षेत्रमा नापी सकिएपछि २०४२ सालमा यहाँका यक्सोलगायत अन्य लिम्बूहरूको परम्परागत किपटिया जिम्मावाल सुवांगी विरासत इतिहासमा सिमित हुन पुग्यो ।
हाङपाङमा यक्सोहरूले नौ वटा सुवांगी पाएको देखिन्छ । आफ्नो समयमा प्रभावशाली सुब्बा राजगुन्दको पाँच भाई छोरालाई सुवांगीको भाग लाग्दा उनीहरू पाँच सुब्बे यक्सो कहलिए । वंशावलीअनुसार राजगुन्दका पाँच भाई छोरा हुन्, राजबीर, जस्नबीर, मतिराज, जङ्गदल र गजबीर । यस्तै पुराना सुब्बाहरू श्रीदेउ, सर्वजित तथा जोदिम रायले सम्हालिआएको सुवांगीलाई तीन सुब्बा यक्सो भनियो । यस्तै खुवा गाउँका वेन्नु रायको सन्तान खुवाली सुब्बा यक्सो कहलिएको देखिन्छ ।
राजगुन्दका जेठो छोरा राजवीरको सन्तति हुन्, हाङपाङका मूलसुब्बा शरणध्वज । उनका छोराहरूलाई अहिले पनि सुब्बा नै भनिन्छ । जस्तो, अमृतकुमारलाई सुब्बा जेठा, पर्वतकुमारलाई सुब्बा माहिला, नरेन्द्रकुमारलाई सुब्बा अन्तरे आदि ।
वंशावलीअनुसार १८ औँ पुस्ताका योमेखाङका ६ भाई छोरामध्ये जेठा याङ्लुप्पाको सन्तान हुन् मूलसुब्बा खलक । म चाहिँ योमेखाङका काहिँला छोरा नांवाका २८ औँ पुस्ताका सन्तति हुँ । हाङपाङका अन्तिम मूलसुब्बा २८ औँ पुस्ताका शरणध्वजको सात भाई छोरामध्ये अन्तरे नरेन्द्रकुमारका दुई भाई छोरामध्ये जेठा रोशन यक्सो आफ्नो वंशजको हाँगामै एक अभूतपूर्व प्रतिभाका रुपमा देखा परेका छन् । हाङपाङको मूल सुब्बाबाट नेपाली साहित्य जगतले एक प्रखर कविको रुपमा उनलाई पाएको छ । साइनो सम्बन्धले मेरा यी नातीको काव्यिक उपस्थितिलाई मैले आफ्नो वंशानुगत गौरवको रुपमा लिएको छु ।

Advertisement

हामी मावोहाङका सन्ततिमध्येका एक समूह यक्सोहरूमध्येबाट डा. ज्ञानेन्द्र यक्सो यसअघि नै आफूलाई एक प्रखर कविका रुपमा स्थापित भइसकेका छन् । कविताकै क्षेत्रबाट डम्बर यक्सो साहित्यको क्षितिज छिचोल्न प्रयत्नरत छन् ।
भर्खरै दाजु हर्क यक्सोले आफ्नो जीवनवृत्तलाई निफनेर संस्मरणात्मक कृति “पाइतालाको डोबहरू” लाई प्रकाशमा ल्याउँदाको गौरव र खुसीको उज्यालोले मन प्रदीप्त भइरहेको बेला नाती रोशनले समकालिन काब्यउद्यानलाई सुवासित बनाउँदै “सम्झनाको चोमोलुङ्मा” ल्याइरहदा मेरा आफ्नै माइला दाजु डम्बर सुब्बाको स्मृतिविम्व पनि यतिखेर ताजा भइरहेछ । उनले अशेष मल्लको निर्देशनमा २०३५ सालमा “तुँवालो ढाकेको बस्ती” नाटकमा नायकको भूमिका खेलेका थिए । “अक्षलोक” पत्रिकामा एउटा नाटक छापेकोले अन्वेषक रविमान लम्जेलले “कोशी अञ्चलको साहित्यिक रुपरेखा”मा उनलाई साहित्यकारको रुपमा चर्चा गरेका छन् । उनी असाध्यै राम्ररी सारङ्गीबाट धुन निकाल्थे । पञ्चायतकालमा ब्यवस्थाविरोधी र क्रान्तिकारी कविताहरू लेख्थे । कविता वाचन गरेकैले २०३८ सालमा उनको सरकारी जागिर खोसिएको थियो । उनी दिवंगत भएको पनि पाँच वर्ष हुन लागेछ ।

‘सम्झनाको चोमोलुङ्मा’का लेखक रोशन यक्सो ।
‘सम्झनाको चोमोलुङ्मा’का लेखक रोशन यक्सो ।

फेरि फर्काैँ, कवि रोशन यक्सोकै सेरोफेरोमा ।
उनी नौ वर्षदेखि हङकङमा छन् । त्यहाँ साहित्य श्रृङ्खला चलाउनेमध्येका एक हुन् उनी । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर उनी आफ्नो समयमा मेधावी विद्यार्थी हुन् । एक साहित्यिक अभियन्ताको रुपमा आफूलाई अब्बल सावित गर्दै आइरहेका उनको भावी दिनहरू कवितामय हुने निश्चित छ । कविता सिर्जनामात्रै होइन, साहित्यिक परिशिलन पनि उनीबाट अपेक्षाकृत छ ।
हामी साइनोमा बाजे–नाती भए पनि सम्बन्धगत रुपमा हामी साथी–साथी जस्तै छौँ । संयोगवश यतिखेर हामी दुवै परदेशी भएका छौँ । उनी यो पृथ्वी नामको डल्लोको पूर्वी देशान्तरमा छन्, अनि म चाहिँ पश्चिमतिर । जहाँ रहे पनि रोशनले मेरो लेखनमा पनि निरन्तर उकेरा लगाइरहेकै छन्, फलतः मबाट लेखनको क्षेत्रमा केही फसल सम्भव हुनसकेको छ । निकट भविष्यमा हामी दुवैले एउटा महत्त्वपूर्ण काममा हात हाल्ने सल्लाह गरेका छौँ । त्यो के हो त ? पहिले काम सकौँ, अनि पछि बताउँला है !

आज फेरि उही २०४३ सालको त्यो हिउँदको याद आइरहेछ । त्यो रात संयोगले हाम्रो घरमा बास बसेर हाम्रो न्यास्रोलाई थोरै भए पनि मेटिदिने भतिज अमृतकुमार यक्सो र बुहारी (हालः दिवंगत)लाई सम्झिरहेछु । उनै भतिजका अन्तरे भाई नरेन्द्रकुमारका सन्तति रोशनको नेपाली साहित्यलाई उज्यालो बनाउँदै आइरहेको काव्यकृतिले मनलाई थप रोशन गराइरहेछ ।