काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको अवस्थामा फेला परेको छ । आइतबार बिहान थप एउटा बस पुरिएको अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार त्यहाँ अरू पनि गाडीहरू पुरिएको हुनसक्ने आशंका गरिएको छ ।
यसैबीच गोरखा दरौंदी यातायात सेवा कम्पनीको बस सम्पर्कविहीन भएको छ । ना ४ ख २२७० नम्बरको यात्रुबाहक बस लापुबेसीबाट काठमाडौं आउका लागि छुटेको र खानीखोलाबाट सम्पर्कविहीन भएको जनाइएको छ ।
लापुबेसीबाट बिहान ११ बजे बिहान छुटेको उक्त बसमा दुई–तीन जना मात्रै यात्रु भएको बुझिएको र बसमा गुरूङ र तिवारी थरका चालक र सहचालक भएको बताइएको छ । उनीहरुले जाम छ भनेर बताइरहेको र धादिङको धुनीबेसी नगरपालिकास्थित खानीखोला पुगेपछि सम्पर्कविहीन हो ।
हराएको बस झ्याप्ले खोलामा पुरिएको बस हुन सक्ने आकलन गरिएको छ । खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ । फेला परेका तीनै जनाको शव निकालिएको छ । ती शव सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।