काठमाडौं। राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे निर्वाचित भएकी हुन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा घिमिरेले ३९ मत प्राप्त गरेकी हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मतमात्र पाइन् । मतदानमा ५५ सदस्य सहभागी भएका थिए ।
मतदानअघि बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका पुडासैनी र नेकपा (एमाले) का घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावबारे जानकारी गराएका थिए । बैठकमा दुवै प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि मतविभाजनमार्फत निर्वाचन भएको थियो ।