काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालय लाजिम्पाट उपस्थित गराइएको छ ।
सीआइबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार सीआईबीमा महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गरिने भएको छ । उनका अनुसार महराविरुद्ध मुद्दा उठाएर थुनाका लागि म्याद थप्न सरकारी वकिल कार्यालयमा लगिने छ ।
महरा काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै रुपन्देही पुगेका थिए । बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरा पक्राउ परेका हुन् ।
भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।