काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन् ।
आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न गाउँपालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा हुने बताएका हुन् ।
छलफलमा प्रधानमन्त्रीले गोरखा र धादिङको सिमानामा निर्माण लागिएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलासयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाउन लागिएको जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले गोरखा नगरपालिका–१३ स्थित देउरालीमा रहेको बन्द गोरखकाली रबर उद्योगसमेत छिट्टै सञ्चालन गर्न लागेको जानकारी गराएको बताइएको छ ।
जनप्रतिनिधिसँग प्रधानमन्त्रीले गोरखामा सडकलगायतका अन्य भौतिक पूर्वाधार विकासका लागि आगामी आवमा चालु आव २०८०/०८१ मा भन्दा बढी सुधार हुने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत गरेको बताइएको छ।