October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

राज्यलाई लुट्ने छुट कसैलाई दिन सकिन्न: गृहमन्त्री

710

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले  राज्यलाई लुट्ने छुट कसैलाई दिन नसकिने बताएका छन् । शुक्रबार पोखरा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कसैलाई पनि छुट नदिने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘उद्योगी व्यावासयी पनि गल्ती गर्छन् र कारबाही गर्न थाल्यो भने दबाब सुरु हुन्छ वक्तव्यबाजी सुरु हुन्छ । उद्योग व्यावसायीलाई त कारबाही गर्नु भएन नी ! हामीले कर तिरेका छौं । ठीक छ त, निजी क्षेत्रलाई पनि हामीले भनेको छौं निजी क्षेत्रको साथबिना नेपालको अर्थतन्त्रलाई अघि लैजान सकिन्न । तर कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिँदैन । कसैलाई पनि जालसाझी गरेर ठग्न छुन दिन सकिँदैन । कसैलाई पनि अपराध गर्ने छुट दिन सकिँदैन । यस्तो प्रकारको दबाब र हस्तक्षेप भइराख्ने हो भने हाम्रो देशलाई बिगार्छ ।’

उनले हरेक क्षेत्रमा केही काम अघि बढाउने बित्तिकै त्यही क्षेत्रको दबाब सुरू हुने बताए । उनले भने, ‘कुनै अपराधिक काममा, ठगीको काममा, जालसाझीमा कोही राजनीतिक पृष्ठभूमिको मान्छे पक्राउ पर्‍यो भने पार्टीकै नेताहरु कराउन थाल्छन् । उ त नेता हो । हाम्रो पार्टीको हो । गठबन्धनको हो वा प्रतिपक्षको हो । गर्न पाइँदैन । तर त्यसरी चल्दैन । कर्मचारीले गल्ती गर्‍यो र कारबाही गर्न थालियो भने कर्मचारी संगठन बोल्न थाल्छ । माथिल्लो उच्चपदस्थ कर्मचारी नै बोल्न थाल्छ कर्मचारीलाई त त्यो गर्नु भएन नी भनेर’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

Advertisement

उनले कुनै पनि कर्मचारी र सुरक्षा अधिकारीहरू दृढतापूर्वक उभिनुपर्ने बताए । ‘कुनै पनि बाञ्छित हस्तक्षेपबाट तपाईंहरु हच्किनु पर्दैन । दृढतापूर्वक सामना गर्नका लागि अपिल गर्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।