November 6, 2024, Wednesday
२०८१ कार्तिक २१
1:37:26 pm

आज देशभर सहिद दिवस मनाइँदै

595

काठमाडौं । सहिदहरू प्रतिको सम्मान स्वरूप आज देशभर सहिद दिवस मनाइँदै छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते विविध कार्यक्रम गरी सहिद दिवस मनाउने गरिएको छ ।

सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।

सहिदको स्मरणमा विभिन्न गैरसरकारी सङ्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ पनि मनाइँदै आएको छ ।

Advertisement

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।

मुलुकमा इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान दिने सहिदको सङ्ख्या १४ हजारभन्दा बढी छ । गृह मन्त्रालयका अनुसार मन्त्रीपरिषद्ले सहिदको सूचीमा १४ हजार ६८० जनाको नाम निर्णय गरेको छ । तीमध्ये ११ हजार ४१९ जनाको नाम राजपत्रमा छापिइसकेको छ भने तीन हजार २६१ जनाको नाम प्रकाशित हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।