May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्ने: प्रधानमन्त्री

650

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्ने बताएका छन् । संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए ।

युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी मिस इजुमी नाकामित्सुसहितको टोलीसँगको छलफलमा उनले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताए । विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएको पनि उनले जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकका लागि उदाहरण बनेको छ ।अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायत घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौँ ।’

Advertisement

प्रधानमन्त्री प्रचण्डले बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्मरण गराए । उनले संयुक्त राष्ट्र सङ्घको महासभामा अति कम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाबारे समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र सङ्घका प्रयासमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।

छलफलमा इजुमी नाकामित्सुले निःशस्त्रीकरण मामिलाको दक्षिण एसियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरिएको र नेपाल दक्षिण एसियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको बताए । ‘परमाणु हतियारले सुसज्जित छिमेकीका बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो’, उनले भने, ‘नेपालले विगतमा झैँ क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ ।’