May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

मेलम्ची खानेपानी परियोजनाको समय लामो र खर्च बढी भयो, यसबाट पाठ सिक्नुपर्छ: नेता सिंह

695


काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी नेता कृष्णप्रसाद भट्टराईको ‘ड्रिम प्रोजेक्ट’ भएको बताए । सिंहदरबारमा सोमबार मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण कार्यक्रममा बोल्दै उनले मेलम्ची भन्ने वित्तिकै सन्त नेता भट्टराईको सम्झना आउने बताएका हुन्

‘वहाँले ०४६ सालको परिवर्तनपछि, ४८ सालको आमनिर्वाचन हँदा खेरी नै मेलम्चीको परियोजनालाई ड्रिम प्रोजेक्टको रुपमा अगाडि सार्नुभएको थियो ।’, उनले स्मरण गरे ।

मेलम्ची परियोजनामा खर्च बढी भएको उल्लेख गर्दै उनले यसबाट पाठ सिक्नुपर्ने पनि सिंहले बताए । नेपाली कांग्रेसका नेतासमेत रहेको सिंहले भने, ‘उतारचडाव भयो, समय निक्कै लामो भयो । खर्च पनि त्यतिकै बढेको छ । मेलम्ची खानेपानी परियोजनाबाट पाठ सबैले सिक्नपर्छ भन्ने मलाई लागेको छ । सुधारहरू गर्नुपर्छ । योजना मात्रै ठूलो भएर हुँदैन, व्यवस्थापनमा बढी ध्यान दिनुपर्छ र समयमा काम सम्पन्न गर्ने कुरामा हामी लाग्नुपर्छ भन्ने कुरा यसले हामी सबैलाई पाठ सिकाएको छ भन्ने मलाई लागेको छ ।’

Advertisement

संघीय चुनावका लागि जनतामाझ जाँदा पनि खानेपानी र विजुलीकै कुरा आउने बताए । ‘चुनावमा जाँदा बुद्धिजीविदेखि सबैले भन्छ । ल मेकर्सहरुले त कानून बनाउने काम गर्नुपछै, भनेर के गर्नु अब ? नेपालका पोलिटिकल, इकोनोमिकल र सोसियल स्टेटस चैं कस्तो छ भने, संघीय संसदमा प्रचारमा जाँदा पनि पानी आएन, कहिले आउँछ ? भन्छ । विजुली आएन भन्छ । राजधानीको त यो हालत छ भने देशभरीको के हालत होला ?’, उनले प्रश्न गरे ।

मेलम्ची खानेपानी पुनः वितरण भएको खुशी भएको उल्लेख गर्दै सिंहले पुरा खुशी भने उपत्यकाबासीलाई खानेपानी सुलभ तरिकाले वितरण गर्न सकेको दिन मात्रै हुने बताए । उनले भने, ‘मलाई आज एकदमै खुशी लागेको छ । प्रधानमन्त्रीज्यू, काठमाडौं उपत्यकामात्र हैन, नेपालभरी ग्राउण्ड वाटरको एक्ट्राक्सन बढी भइरहेको छ, त्यसमा अब सरकारले विषेश ध्यान दिनुपर्छ भन्ने लागेको छ । खास गरेर म विशेष खुशी हुनुको कारण जुन निर्वाचन क्षेत्रबाट मलाई जनताले अनुमोदन गरेर प्रधिनिधिसभामा पठाएको छ, आज खानेपानीको पून वितरण पनि मेरै निर्वाचन क्षेत्रको अंश अनामनगर र मिनभवनबाट हुने भएको कारणले गर्दा मलाई खुशी लागेको छ । तर, पुरा खुशी चाहीँ उपत्यकाबासीलाई खानेपानी सुलभ तरिकाले वितरण गर्न सकेको दिन हुने छु ।’

उनले यो एउटा पुनः वितरणको जानकारी मात्रै भएको बताए ।