January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

नेपाल-भारतका परराष्ट्र मन्त्रीको बैठक हुँदै, सीमादेखि कोरोना भ्याक्सिनका विषयमा छलफल हुने

580

काठमाडौं– नेपाल र भारतका परराष्ट्र मन्त्रीहरूले नेतृत्व गर्ने संयुक्त आयोगको छैठौं बैठक आज भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ । गत वर्षको लिपुलेक-लिम्पियाधुरा विवादपछि पहिलो पटक दुई देशका उच्च राजनीतिक अधिकारीबीच आज वार्ता हुन लागेको हो।

बैठकका लागि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिहीबार नै नयाँदिल्ली पुगिसकेका छन् । भारतीय समयअनुसार शुक्रबार बिहान ११ बजे हैदरावाद हाउसमा बैठक सुरू हुने नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले जानकारी दिए। भारतीय पक्षको नेतृत्व विदेश मन्त्री एस जयशंकरले गर्नेछन् ।

बैठकमा नेपाली पक्षले सीमा, पारवहन, विद्युत व्यापारलगायत सबै विषयमा कुरा राख्ने ओडारीले बताए । आजको बैठकमा नेपालले कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध गराउन भारतीय पक्षलाई अनुरोध गर्नेछ । भारतीय पक्षले खोप कसरी दिने भन्नेबारे बताउने अपेक्षा गरिएको छ ।

Advertisement

भारतले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिन आफ्नै देशमा उत्पादन गरिरहेको छ। भोलिदेखि भारतमा यो भ्याक्सिन आम नागरिकलाई लगाउन थालिनेछ। संयुक्त आयोगको बैठकमा लिपुलेक, लिम्पियाधुरासम्बन्धी विवादबारे भने कुनै निर्णय हुने सम्भावना छैन। भारतीय पक्षले यसअघि बिहीबार सीमा विवादबारे कुरा गर्ने अर्कै संयन्त्र रहेको बताएको छ।

बैठकपछि नेपाली टोलीको सम्मानमा भारतीय विदेश मन्त्री जयशंकरले दिवाभोजको आयोजना गरेका छन्। उक्त दिवाभोजपछि परराष्ट्र मन्त्री ज्ञवालीले भारत सरकारनिकट थिंक ट्याङक इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नेछन्।

शनिबार बिहान उनले परराष्ट्र मामिलामा रिपोर्टिङ गर्ने भारतीय पत्रकारहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री ज्ञवाली शनिबार दिउँसो २ बजे नयाँदिल्लीबाट काठमाडौं फर्किने छन्।