काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर हाल किर्तिपुर बर्न अस्पतालमा उपचार गराईरहेका मोरङको उर्लाबारी आगलागी घटनाका २५ जना घाईते बिरामीहरुको अवस्थाबारे जानकारी गराएका छन् ।
गत कार्तिक २६ गते उर्लाबारीको बरगाछीस्थित दिपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागीसँगै खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घरधनी, ४ प्रहरी र स्थानीयसहित २८ जना सख्त घाईते भएका थिए । तीमध्ये २५ जनाको अहिले किर्तिपुर बर्न अस्पतालमा उपचार भईरहेकोमा ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मन्त्री लिम्बुले प्रधानमन्त्री दाहालसँगको भेटमा घाईतेहरुको उपचार सहजीकरण र सम्पुर्ण उपचार खर्च राज्यले व्योहर्ने विषयमा पनि छलफल गरेका थिए ।
यसैबीच मन्त्री लिम्बुको पहलमा किर्तिपुरमा उपचाररत जलनका बिरामीहरुको उपचारका लागि जापानको ईताबासी मेडिकल एशोसिएशन हस्पिटलका वरिष्ठ डाक्टर हिरोयुकी ईजुमी नेपाल आईपुगेका छन् । अमेरिकाबाट अर्को चिकित्सक टोली पनि आउन लागेको जानकारी प्राप्त भएको मन्त्री लिम्बुको सचिवालयले जनाएको छ ।