December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

हामीले सरकारबाट नयाँ आन्दोलनको सुरुवात गरेका छौं: प्रधानमन्त्री प्रचण्ड

२०८० कार्तिक २५

535

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट नयाँ आन्दोलनको सुरुवात गरेको र अझै नयाँ आन्दोलनको सुरुवात गर्ने बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रआ बोल्दै उनले प्रधानमन्त्री कहिलेसम्म रहने भन्ने कुरा मुख्य कुरा नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको बताएका हुन् ।

२०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताए । २०६४ कै स्थितिमा फर्किन नसके पनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘२०६४ एउटा स्थिति थियो, हामी २०६४ मै त फर्किन सक्दैनौँ । अब आउने भनेको ६४ होइन, २०८४ हो । २०८४ मा हामी ०६४ जस्तै जनताको पक्षमा, जनताको विश्वास लिनसक्छौँ की सक्दैनौँ। हामीले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेका छौँ । अझै गर्छौं । कतिदिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो । हामीले कति राम्रो कुरा शुरु गर्छौं त्यो मुख्य कुरा हो । अर्थतन्त्रमा केही सुधार भएको छ । राजश्व पनि वृद्धि हुन थालेको छ । पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन् । रेमिट्यान्स धेरै नै बढेको छ । विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ । अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्दैछु ।’

Advertisement

प्रधानमन्त्री प्रचण्डले देशमा अब केही हुन्छ की भन्ने आशाको रक्तसञ्चार सुरु भएको पनि बताए । सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको उनको भनाई छ ।