काठमाडौं । कतार एयरवेजको जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा ओभरसुट गर्नुपरेको छ । रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका हुन् ।
उडान नं. ६८४ नम्बरको यो जहाज दोहाबाट काठमाडौं आएको थियो । जहाज बुधबार बिहान सवा सात बजे अवतरण गर्दै थियो । धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’ गरेको जहाज केही समयपछि काठमाडौं अवतरण गरेको छ ।
ओभरसुट भएका जहाजहरु सामान्यतया आकासमा एक फन्को लगाएर केही समयमै अवतरण हुने गरेका छन् । आज कतार एयरको जहाजले पनि आकासमा एक फन्को लगाएर २० मिनेटपछि अवतरण गरेको थियो ।
त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरु सिमरामाथिको आकाशबाटै एप्रोच लिने गर्दछन् ।