February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

जनअपेक्षाअनुसार सरकारले काम गर्न नसके राजनीतिक व्यवस्थाको औचित्य रहन्न: गृहमन्त्री

1.3K

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकको अपेक्षा अनुसार सरकारले काम गर्न नसके वर्तमान राजनीतिक व्यवस्थाको औचित्य नरहने बताएका छन् । सोमवार हेटौँडामा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्न नसकेको खण्डमा लामो संघर्ष पछि प्राप्त भएको राजनीतिक व्यवस्था परिवर्तनको औचित्य नहुने बताएका हुन् ।

‘जनताले अपेक्षा गरे अनुसारको काम सरकारले गर्न नसके वर्तमान व्यवस्था परिवर्तनको औचित्य रहँदैन । जनताले सरकारको अनुभूति गर्न पाए मात्र व्यवस्था प्रतिको औचित्य रहन्छ’, गृहमन्त्री श्रेष्ठले भने ।

उनले सरकारले सुरु गरेको सुशासनको अभियानलाई तुहाउन खोजिएको आरोप समेत लगाए । सुशासन अभियानविरुद्ध सङ्गठित शक्ति आक्रामक ढङ्गले प्रहार भइरहेको तर, सरकार सुशासनको अभियानमा निरन्तर चलिरहने उनले बताए । ‘भ्रष्टाचार र तस्करी नियन्त्रणको प्रयास निरन्तर रूपमा चलिरहन्छ । यो अभियानमा पूर्ण विराम लाग्नेवालामा छैन’, उनले भने ।

Advertisement

उनले गृहमन्त्रीको निरन्तरता र भ्रष्ट्राचारको निरन्तरता तैं चुप मैँ चुपको यथास्थिति कायम हुन नसक्ने उनले बताए । सरकारले जुनसुकै परिस्थितिमा सुशासन र भ्रष्ट्राचारविरुद्धको अभियानलाई जारी राख्ने बताए ।