April 25, 2024, Thursday
२०८१ बैशाख १३
1:37:26 pm

विघटनको मुद्दा विचाराधीन छ, निर्वाचन गतिविधि अघि बढाउन मिल्दैन: प्रचण्ड-नेपाल

2.4K

काठमाडौँ- नेकपाको प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगलाई वैशाखमा निर्वाचन हुने गरी निर्वाचन गतिविधि अघि नबढाउन माग गरेका छन्। सोमबार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत नेता पार्टीको लिखित पत्र लिएर निर्वाचन आयोग पुगेका हुन्।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी वैशाख १७ र २७ गते प्रतिनिधि सभा निर्वाचन तोकेपछि निर्वाचन आयोगले तयारी अघि बढाएको बताउँदै आएको छ। तर, प्रचण्ड-नेपाल पक्ष प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले तत्काल निर्वाचनसम्बन्धी कार्यक्रम नगर्न आग्रह गरेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए। आम रुपमा सबै राजनीतिक दल सहमत नभए निर्वाचन गर्न गाह्रो हुने प्रचण्डको भनाइ थियो।

‘प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद् विघटन गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। अदालतमा विचाराधिन मुद्दा टुंगो नलाग्दासम्म निर्वाचनमा कार्यक्रम अगाडि बढाउँनुहुदैन भन्ने कुरा नै प्रमुख मुद्दा हो,’ पोखरेलले भने, ‘त्यसमा निर्वाचन आयोगले हामीले अरु कार्यक्रम अगाडि बढाएका छैनौँ। मतदाता नामावाली घोषणा भएकै दिनदेखि त्यसमा थप केही हुँदैन त्यसैमा काम गरेका छौँ। स्थायी मतदानस्थलको व्यवस्थापन र कार्यक्रममा मात्रै काम गरेका हौँ। अरु हामीले केही गरेका छैनौँ भनेर जवाफ दिएका हुन्।’

Advertisement

राजनीतिक रुपमा आम सहमति भई नसकेकाले अरु निर्वाचनसम्बन्धी कार्यक्रममा अगाडि नबढेको निर्वाचन आयोगले जनाएको छ।