December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

राज्यको चरित्रलाई अझ लोकतान्त्रिक,न्यायपूर्ण र जनमुखी बनाउनु पर्छ: राष्ट्रपति पौडेल

600

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा बधाई तथा शुभकामना दिँदै राष्ट्रपति पौडेलले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताएका हुन् ।

उनले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको पनि बताए । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने लक्ष्य राखेको उनको भनाइ थियो ।

शुभकामना सन्देशमा उनले सुदृढ तहगत अन्तरसम्बन्धको स्थापना र सबल सङ्घीय शासन प्रणालीमार्फत समावेशी, समन्यायिक एवं सन्तुलित प्रादेशिक विकासको सुनिश्चितता हुन सकेन भने जनताले चाहेको लोकतन्त्रको परिणाम प्राप्त नहुने उल्लेख गरेका छन् । उक्त लक्ष्य हासिल गर्न प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै कृषिको आधुनिकीकरणसहित उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

Advertisement

राष्ट्रपति पौडेलले राज्यको चरित्रलाई अझ लोकतान्त्रिक, पारदर्शी, जवाफदेही, सुशासित, न्यायपूर्ण र जनमुखी बनाउनुपर्ने बताएका छन् । जनप्रतिनिधिहरू, सार्वजनिक निकायका पदाधिकारी तथा राजनीतिक दलका नेता कार्यकर्ताले जनताले अपेक्षा गरेको आचरण र चरित्र देखाउनसके मात्र सामाजिक न्याय र स्वाभिमानसहित समृद्धिको सपना साकार हुने उल्लेख गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ, “राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन् । अतः आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउनेछ भन्ने विश्वास लिएको छु ।”