काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आयोग गठनको प्रक्रिया अघि बढिसकेको सदनमार्फत जानकारी गराएका हुन् ।
सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेकाले सहमति अनुसार नै आयोग गठन प्रक्रिया अघि बढेको उनले बताएका हुन् । उनले भने, ‘यस अघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीररुपमा लिएको बताएका छन् । उनले यादवमाथि आक्रमण गर्नेलाई कारबाही प्रक्रिया अघि बढेको पनि बताए ।




