काठमाडौं । संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्बााङको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्बाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
नेम्बाङले संविधान निर्माण प्रक्रियामा खेलेको उच्च भूमिकालाई कदर गर्दै राजकीय सम्मान दिने निर्णय भएको जनाइएको छ । त्यस्तै नेम्बाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय पनि भएको छ ।
नेम्बाङ मंगलबार राति १ बजेतिर शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट १ः५० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पु¥याइएको थियो । अस्पताल पु¥याउने वित्तिकै नेम्बाङको निधन भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।
नेम्बाङको पार्थिव शरीरलाई अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय लगिएको छ । उनको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार छोराहरू आएपछि अन्त्येष्टि गरिने जनाइएको छ ।
उपाध्यक्ष सुवास नेम्बाङको निधनमा नेकपा एमालेले तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ । एमालेको आकस्मिक सचिवालय बैठकले औपचारिक कार्यक्रम नगरिने निर्णयसमेत गरेको छ ।
आजको बैठकले नेम्बाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकपछि कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले अत्यन्त दुःख, पीडा र शोकका बीचमा आकस्मिक सचिवालय बैठक गरिएको बताए ।