काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्बाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पु¥याउने वित्तिकै नेम्बाङको निधन भएको चिकित्सकहरुले घोषणा गरेको हो ।
उनको निधन भएपछि पार्टी अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।
नेम्बाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।
हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । नेम्बाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।
नेम्बाङ २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका थिए भने मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए । उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए ।