काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूहरु पुनर्निर्माण गर्ने अभियानमा रहेको बताए । शनिबार सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा पुगेका उनले अभियान देशभर उत्साहपूर्ण ढङ्गले अगाडि बढेको बताएका हुन् ।
भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढङ्गले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिन चाहन्छु । ठुलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ ।’
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताए । अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई चुनौतीपूर्ण अवसरको रूपमा लिएको उनको भनाइ थियो ।
सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरुवात गरिएको पनि उनको भनाई थियो । भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भ्रष्टाचारमा रमाउनेहरू अत्तालिएको बताए ।