काठमाडौं । संघीय निजामती कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसद्मा पठाउने भएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसद्मा पठाउने तयारी रहेको बताएका हुन् ।
मन्त्रिपरिषद्मा शिक्षासम्बन्धी विधेयक प्रस्तुत हुँदा मुख्य विधेयकभन्दा फरक ढंगले गएको भन्दै त्यसलाई परिमार्जन गरेर लैजानका लागि रोकिएको उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको संविधान जारी भएपछि हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको अवस्था छ । साथै विभिन्न मितिमा जारी भएका केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनबाट प्रचलित कानुनहरुलाई नेपालको संविधान अनुकुल बनाउने कामसमेत सम्पन्न गरिएको छ । नेपाल सरकारले संघीय संसद्मा पेस गरेका विभिन्न १५ वटा विधेयक संसदीय प्रक्रियामा रहेका छन् ।’