December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

कर्णाली प्रदेशको स्थापनामा कर्णालीबासीको ठूलो त्याग र बलिदान रहेको छ: प्रधानमन्त्री

1.6K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस कार्यक्रममा बोल्दै उनले सहिदहरुको सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कर्णाली प्रदेशको स्थापनामा कर्णालीबासीको ठूलो संघर्ष, त्याग र बलिदान रहेको छ । कर्णाली प्रदेश निर्माणका क्रममा ८ वर्षअघि २ हप्ता लामो आन्दोलनमा चार जनाको शहादतपश्चात् २०७२ भाद्र ४ गते आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो। यस सन्दर्भमा म आन्दोलनका क्रममा शहादत्त प्राप्त गर्ने सुर्खेतका टीकाराम गौतम, यामबहादुर बिसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुंवरप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरूको सपना पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले तीन तहका सरकारहरु एकअर्काका प्रतिस्पर्धी नभएर सिंगो राष्ट्र निर्माणका सहयात्रीहरू भएको पनि बताए । ‘संघीय शासन प्रणालीको मूल मर्म नै लोकतान्त्रिक लाभको समानुपातिक, समावेशी र न्यायोचित वितरणलाई आम जनतासम्म बिस्तार गर्नु हो । यसका लागि पनि तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयको सम्वन्ध आवश्यक रहन्छ । तीन तहका सरकारहरु एकअर्काका प्रतिस्पर्धी नभएर सिंगो राष्ट्र निर्माणका सहयात्रीहरू हुन्, जसले नागरिकको बृहत्तर हितका लागि एकआपसमा बाँधिएर परिपूरकको भूमिका पूरा गर्दछ, हाम्रो संविधानको मूलमर्म एवं व्यवस्था पनि यही नै हो ।’, उनले भने ।

Advertisement

उनले नेपालमा एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका विभेद, असमानताका जराहरू अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज स्थापना गर्न र नागरिकले आफ्नो हक अधिकारको पूर्ण उपयोग गर्नेगरी पहिचान र सामथ्र्यमा आधारित संघीय प्रणालीसहितको संघीय लोकतान्त्रिक समावेशी गणतन्त्रको स्थापना भएको पनि बताए ।