October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू पुनः छलफलमा

1.7K

काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू पुनः छलफलमा बस्ने भएका छन् ।

सुन प्रकरणमा छानबिन समिति बनाउने विषयमा हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षमा पुग्न नसके पछि थप छलफलका लागि आज पुनः बैठक बस्न लागेका हुन ।

जस अनुसार आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्नेछ ।

Advertisement

प्रतिनिधिसभा बैठक ३ बजे बस्नु अघि प्रमुख दल बिच सहमति जुटाउने प्रयास स्वरूप सो बैठक बोलाइएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उक्त बैठकमा रहने छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्वीकार गरे पछि गत १२ साउन देखी नै संसद् अवरुद्ध हुँदै आएको छ ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण यस अघिका कयौँ बैठकहरू निष्कर्षमा निस्कन सकेका छैनन् ।

आजको बैठकबाट निष्कर्ष निकाल्ने अपेक्षा शीर्ष नेताहरूले गरेका छन् ।